बिचारको खेती थाल्दै छु म
बिचारको खेती थाल्दै छु म
अक्षरको माहुरी पाल्दै छु म
किन्दै छु फेरि नयाँ किताब
पुरानो कोट टाल्दै छु म
छाडेर चहार्न मठ मन्दिर
नयाँ कदम थालदैछु म
उज्यालो हेर्न पूरै बस्ती
घर आफ्नो बाल्दैछु म
– ज्ञानुवाकर पौडेल
हिँड्दै गरेको बाटो अचानक हराएपछि
हिँड्दै गरेको बाटो अचानक हराएपछि
चोर भागेकोछ छिमेकी कराएपछि
भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन
कुकुरदेिख मानिस आफैँ डराएपछि
यत्रो ठूलो बाल्टिन कसरी भरिएछ
दूध बढ्छ पेट भरिने गरी चराएपछि
आगो हो आगोले पोल्छ भन्ने जान्दाजान्दै
बास पाइँदैन रिसमा घर जलाएपछि
छहारी सुस्ताउनका लागि हुन्थ्यो
कहाँ रहन्छ शीतल रूख ढलाएपछि
– वियोगी बुढाथोकी
घरको न घाटको
घरको न घाटको l
हकदार छ लातको l
मक्किएको रूखलाई,
भर हुन्छ र पातको ?
जिउनु छ बिपनीमा ,
छोड कुरा रातको l
वर्ण मात्र फरक छ,
मान्छे एउटै जातको
– रवि प्राञ्जल
मान्छेभित्र अझै जङ्गल जीवित छ
मान्छेभित्र अझै जङ्गल जीवित छ
र त पाइलैपिच्छे ऊ विभाजित छ ।
दुनियाँ बदलियो भन्नु मात्र हो
पुरानै दुःखले जो कोही आजित छ ।
किताब लेख्न जनावरले जान्दैन
यसै कारण मानिस सम्मानित छ ।
ब्याटरी सकिएपछि ऊ चुप लाग्नेछ
अहिले रिमोटबाट सञ्चालित छ ।
अरुलाई दोष दिने बानी नराम्रो
मान्छे आफ्नै कर्मबाट प्रताडित छ ।
– मनोज न्यौपाने
आगोसँग पानी मिल्नुहुन्न भन्थे
आगोसँग पानी मिल्नुहुन्न भन्थे
वैरी जानाजानी मिल्नुहुन्न भन्थे ।
घात भएपछि विश्वासमा एकाएक
रूप र जवानी मिल्नुहुन्न भन्थे ।
अनिदो आँखा झुकाएर उसले भनी
“आँसु र सिरानी मिल्नुहुन्न भन्थे” ।
विगत बिर्सेर बाँच्न सिकेकाहरू
रुवाउने निशानी मिल्नुहुन्न भन्थे ।
आँखामा बादल लागेका कविजी
शीत र बिहानी मिल्नुहुन्न भन्थे ।
– प्रभाती किरण