देख्न त उसलाई सानैदेखि देखेको हो तर पनि मलाई उप्रति आकर्षण दश कक्षा पुगेपछि मात्र बढ्न थाल्यो । ऊ नौ कक्षामा पढ्थि । स्कुल जाने बेलामा एउटा दोबाटोमा हाम्रो भेट हुन्थ्यो । म हरेक दिन ऊ भेट हुने समयको अन्दाज गरेर निस्किन्थेँ । अनि सँगै स्कुल जान्थेँ ।
बाबु सानैमा बितेकाले उसकी आमाले उसलाई दुख गरेर हुर्काएकी थिइन् ।राम्रो शीलस्वभाव भएकी अस्मिता साँच्चै स्कुलमा सबैभन्दा राम्री केटी थिई ।
यसरी सँगै स्कुल जाँदा म उसलाई प्रभावित पार्न अनेक कुराहरू गर्थेँ, हँसाउने प्रयास गर्थेँ। ऊ मात्र मुस्काउँथि। खासै दोहोरो कुरा गर्दैनथि। बिस्तारै ऊ भेट हुन छाडि। कहिले चाँडै त कहिले म भन्दा ढिलो स्कुल पुग्थि। उसँग जान नपाउँदा म निरास हुन्थेँ।
एकदिन उसलाई भेट्न म दोबाटोमा कुरेर बसेँ । ऊ निकै ढिलो गरेर आई । मलाई देख्नेबित्तिकै केही असजिलो मानि ।
‘किन तिमी आजकाल पर- पर भएकी छौ नि । सँगै हिँड्न पनि अप्ठेरो मान्छौ त ?’ मैले सहनै नसकेर सोधेँ ।
‘हैन त्यस्तो त’, उसले टारेर दिएको जवाफ हो भन्ने मैले बुझिहालेँ ।
‘केही त पक्कै हो । मैले केही गल्ति गरेँ कि । भन न ।’
‘उसै त म टुहुरी, चरित्रमा धेरैले औँला उठाउँछन् । यसरी तपाईँसँग सधैँ सँगै हिँड्दा नराम्रो कुरा गर्छन् कि भन्ने डर लाग्छ । हामीले त हाँस्दा पनि राम्रो मान्दैन यो समाज ।’
मलाई उसका कुराले झन् उप्रति प्रेम बढेर आयो । 
‘आफु असल हुनुपर्छ अरुले के भन्छन् भनेर डराउनु पर्दैन’, मैले सम्झाएँ ।
‘त्यो त हो नि है’, ऊ मुसुक्क हाँसि।
नजिकैको एसएलसी सँगै आएको पढाईको तनावको पनि पर्वाह नगरि मैले उसलाई एकदिन प्रेमप्रस्ताव राखेँ ।पहिले त उसले यस्तो कुरा नगर्नुस् न प्लिज भन्दै पन्छिन खोजि । ऊ केही आत्तिएजस्तै गरि । तर मैले हुन्छ या हुँदैन जे भए पनि स्विकार्नै बाचा गर्दै जसरी पनि जवाफ देउ भनेर बताएँ ।
‘म अहिले जवाफ दिन सक्दिनँ । अहिले आफ्नो जाँचको तयारी गर्नुस् न ल । पछि भन्छु नि तपाईँको जाँच सकिएपछि ।’
मैले उसको कुरा मानेँ । म ढुक्क थिएँ उसको जवाफ हुन्छ भन्ने नै हुनेछ । नत्र त किन कसैले अस्विकार गर्नलाई कुराउँछ होला र ! पक्कै मेरो माया लागेर नै जाँच नबिग्रोस् भनेर यस्तो भनेकी हो ।
म घर बसेर जाँचको तयारि गर्थेँ । उसँग भेट हुँदैनथ्यो । बिस्तारै दिनहरू बिते । मेरो एसएलसी पनि आयो । जाँच राम्रोसँग दिएँ । परिवार र स्कुल सबैको आशा ममाथि थियो । 
जाँच सकिएको केही दिनमै म काठमाण्डु जानुपर्ने भयो । बुबाले ब्रिजकोर्स पढ्नको लागि व्यवस्था मिलाइसक्नु भएछ । काठमाण्डु जानुअघि अस्मितालाई भेटेर उसको जवाफ जान्नु थियो तर गाउँ समाजको संकुचित परिस्थितिमा भेट्ने वातावरण नै मिलेन । म अमिलो मन लिएर काठमाण्डु हिँडेँ आफ्नो प्रेमलाई छोडि, बुबाआमाको छोरो साइन्स पढेर डक्टर बन्ने सपना बोकेर ।
म काठमान्डुमा एक्लो थिएँ । आफ्नै मन पनि मलाई छोडेर हिँडिरहन्थ्यो अस्मिता भएकै ठाउँमा । उसँग मोबाइल नभएकोले मेरो सम्पर्क गर्ने माध्यम नै थिएन । बस् सपना र कल्पनामा भेटिरहन्थेँ । कुरा गरिरहन्थेँ ।
यसरी मैले काठमान्डुमा तीन महिना बिताइसकेको थिएँ । यसैबीच मेरो रिजल्ट पनि प्रकाशित भयो । डिस्टिंसन आएछ । खुसीको सिमा रहेन । आमाले फोनमा खुसी हुँदै एकचोटि घर आइज न भन्नुभयो । मैले पनि हुन्छ भनिदिएँ ।
यसैबीच म कलेज भर्ना गर्ने पैसा ल्याउने बहानामा अस्मितालाई भेट्ने भित्री चाहना बोकेर घर गएँ ।
घरमा बुबाआमाले मेरो प्रगति देखेर स्याबास् भन्दै अझै सफलताको आसिर्वाद दिनुभयो । अब झन् राम्रो पढ्नुपर्छ भन्नुभयो ।
साँझ खाना खाइसकेपछि मैले आमालाई गाउँमा के के हुँदैछ त भनेर सोधेँ ।
आमाले खुइय्य सास फेरेर भन्नुभयो, ‘ के भन्नु र बाबु यो गाउँ त पापीहरू बस्ने ठाउँ भएछ । थाहा पाइस् होला नि त अस्तिको घटना ।’
‘केही थाहा छैन त आमा मलाई । के कुरा हो ?’
‘त्यो माहिलीको छोरीको के त..’
म झसंग भएँ । आमा माहिलीको छोरी अर्थात् अस्मिताको कुरा गर्दै हुनुहुन्थ्यो ।
‘के घटना र आमा ?’ मेरो कौतुहुलता सँगै धड्कन तेज हुँदै थियो ।
‘कसरी भन्नु र खै बाबु…’
आमाले सबै भन्नुभयो । म सुनिरहेँ । म टोलाइरहेँ । आमालाई के थाहा यो कुराले मेरो मनमा कस्तो हलचल पैदा गरायो । उहाँले त बस् गाउँको तातो घटना छोरालाई सुनाउनु भयो । अहँ थाहा छैन उहाँलाई त्यो बलात्कारको शिकार भएकी माहिलीको छोरी अस्मिता आफ्नै छोराकी प्रेमिका हो भन्ने । आमा कतिबेला जानुभयो, रूँदारूँदै म कतिबेला निदाएछु केही पत्तो पाइनँ ।
मलाई त्यो गाउँमा बस्नै मन लागेन । भोलिपल्टै म खर्च लिएर काठमाण्डु हिँडेँ । बाटोमा मेरी अस्मितालाई चिथोर्ने पशुलाई टुक्रा टुक्रा पारौँजस्तो सोच आयो तर जेल परिसकेको त्यसको भन्दा बढी सजाय पाइरहेकी मेरी अस्मिताको यादले पिरोल्यो । यात्राभरि मेरा आँखा ओभाएनन् ।
काठमाण्डु आएर मैले परिवार र समाजसँग अस्मितालाई दाँजेर हेरेँ । म सानो र अपरिपक्व मान्छेलाई आँट आएन आफ्नो प्रेमको पक्षपोषण गर्न । मलाई इज्जत, प्रतिष्ठाजस्ता खोक्रा आडम्बर देखाउने समाजले आतंकित तुल्यायो । मैले अस्मितालाई भुलिदिएँ । बस् संगालेँ तीता यादहरूलाई अनि लागीपरेँ आफ्नो सपना सजाउन डक्टर बन्ने सपना ।
कहिलेकाहीँ घर जाँदा सुन्थेँ, अस्मिता पनि काठमाण्डुमै छ रे ! बलात्कृत नारीहरूको सामाजिक पुनर्स्थापनाका लागि काम गर्ने एनजीओमा काम गर्छे रे । यस्तो सुन्दा मुटु चिसो भएर आउँथ्यो । कतै उसँग भेट भइहाले कसरी मुख देखाउन सकुँला म ।
म पश्चातापमा जलेँ । म डराएर हिँडिरहेँ । अस्मिताको इज्जत लुटिएको भन्दा पनि लाग्यो मेरो अस्मिता लुटिएको हो र त उसँग भागेर हिँडिरहेछु ।

लेखक : सुरेश बडाल